बजेटमा कार्यान्वयन गर्न सक्ने कार्यक्रम प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

चैत्र १९, २०७७ | काठमाडौं

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गर्नु भएको हो । 

खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले बहुवर्षिय योजनामा पनि खर्च हुने गरी मात्र बजेट राख्न आग्रह गर्नुभयो । सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको भन्दै मन्त्री पोडेलले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै उहाँले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औंल्याउनुभयो । उहाँले कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीति मार्फत सम्बोधन गर्ने आश्वासन दिनुभयो । 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रम भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । 

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफलका साथै सुझाव समेत संकलन गरेको छ ।


प्रतिक्रिया