बजार क्षेत्र जोगाएर सडक बिस्तार

वैशाख २२, २०७८ | सिन्धुली

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको सिन्धुलीमाढी खण्डको ६ किलोमिटर सडकको रेखांकनको विवाद टुंगिएको छ । राजमार्गको सडक क्षेत्राधिकार भित्र पर्ने दायाँबायाँ ३१/३१ मिटर कायम गरी सडक बिस्तार गर्दा सदरमुकामको धुराबजार, मिलनचोक, साङबाले र खट्टार बजार विस्थापित हुने भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो । 

राजमार्ग आयोजना निर्देशनालयका अनुसार स्थानीयको माग अनुसार बजार क्षेत्र जोगाउन खट्टारदेखि धुरा बजार सिरानसम्मको कच्ची सडक ११ मिटर कायम गरी कालोपत्रे गर्ने कार्य अगाडि बढाउने सहमति भएपछि रेखांकन विवाद टुंगिएको हो । 

सो सडक हाल सञ्चालनमै रहेको धुरा बजारको सिरानदेखि सदरमुकामको बसपार्क, हस्पिटल रोड हुँदै शान्तिनगर चोकमा उपलब्ध चौडाईमा लगेर वीपी राजमार्गमा जोडिने आयोजनाका निर्देशक उमेशविन्दु श्रेष्ठले बताउनुभयो । बजार क्षेत्र जोगाउन ६ किलोमिटर सडकलाई ११ मिटर चौडाइ बनाउदा क्षति कम हुने उहाँको भनाई छ । 

बसपार्कको पुल सानो हुने भएकाले नयाँ निर्माण गरिने भएको छ । शहरी क्षेत्रमा बाइपास सडक निर्माण गरेर वस्ती तथा बजार जोगाउने सहमति भएको संघीय सांसद हरिबोल गजुरेलले जानकारी दिनुभयो । 

राजमार्ग निर्माण अन्तिम चरणमा पुग्दा समेत सदरमुकाममा विवाद नटुंगिएपछि पुरानै सडक कायम गरी हाल कालोपत्रे गर्ने र कालान्तरमा ढुंग्रेबास क्षेत्रबाट राजमाार्ग बिस्तार गर्ने उहाँको भनाइ छ । 

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोडिने यो राजमार्गको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौंडा महानगरपालिका–६ चौगडासम्मको १ सय १५ किलोमिटर र पूर्वी खण्डको १३४ सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।


प्रतिक्रिया