निषेधाज्ञामै भित्रियो बंगलादेशी युरिया मल

वीरगन्जको सुक्खा बन्दरगाह गोदाममा भण्डारण गरिएको डीएपी मल । फाइल तस्बिर 

वैशाख २७, २०७८ | पर्सा

सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल मध्ये आधा नेपाल भित्रिएको छ । कृषि सामग्री कम्पनी प्रदेशस्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीका अनुसार बंगलादेशसँग कुल ५० हजार मेट्रिक टन युरिया मल खरिद गरिएकोमा त्यसमध्ये पहिलो लटको २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्रिएको हो । 

२२ हजार ५ सय मध्ये १० हजार मेट्रिक टन युरिया निषेधाज्ञा अवधिमै भित्रिएको छ । १ साता अघि वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा १ रेल्वे र्‍याकमा २ हजार ५ मेट्रिक टन युरिया मल आएको थियो । 

‘१/१ र्‍याक विराटनगर र भैरहवा कार्यालयतर्फ आएको छ,’ उहाँले भन्नुभयो, ‘वीरगञ्जको बाँकी १ र्‍याक युरिया १/२ दिन भित्रै आउँदै छ, त्यसपछि बंगलादेशबाट आउने बाँकी २५ हजार मेट्रिक टन युरिया पनि चरणबद्ध रुपमा भित्रिने छ ।’ 

मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेपनि मल भित्रिने र परिचालन गर्ने काममा खासै प्रभाव नपरेको केसीले बताउनुभयो । निषेधाज्ञा अवधिमै माग भएका जिल्लाहरुमा युरिया र डीएपी मल परिचालन भई रहेको उहाँले जानकारी दिनुभयो । 

हाल कार्यालयसँग १८ हजार मेट्रिक टन डीएपी, २ हजार २ सय मेट्रिक टन युरिया र १ हजार ५ सय ८० मेट्रिक टन पोटास मलको मौज्दात रहेकाले तत्कालै मलको अभाव नहुने उहाँको भनाई छ ।नेपाल सरकारले खरिद गर्न लागेको थप ३० हजार मेट्रिक टन युरिया मल पनि क्रमश: नेपाल भित्रिने उहाँले बताउनुभयो ।

ग्लोबल टेण्डरबाट ठेक्का पाएको नेपालको जोशी बिज हाउसले यो कन्साइन्मेन्ट अन्तर्गत ३० हजार मेट्रिक टन युरिया मल चीनबाट खरिद गरेको छ । सो कन्साइन्मेन्ट अन्र्तगत पहिलो रेल्वे र्‍याक मंगलबारसम्म वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भित्रि सक्ने उहाँको भनाई छ । 


प्रतिक्रिया