काठमाडौंमा फेरि बर्डफ्लू संक्रमण पुष्टि

जेष्ठ १२, २०७८ | काठमाडौं

काठमाडौंमा फेरि बर्डफ्लूको संक्रमण देखिएको छ । कीर्तिपुर नगरपालिकाको वडा नम्बर–४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर–२ का कृषकले पालेका कुखुरा, हाँस र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ । 

बर्डफ्लूको संक्रमण पुष्टि भएपछि यसको नियन्त्रण तथा रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहका पशुसँग सम्बन्धित निकाय परिचालन गरी सो क्षेत्रका पन्छी नष्ट गरिएको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताउनुभयो । 

सो क्षेत्रका कृषकले पालेका ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० वटा हाँस, १ सय ७८ वटा अण्डा र ९ सय केजी दाना नष्ट गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । 

अस्वभाविक रुपमा टर्की मरेको सूचनापछि विभागले नमूना संकलन गरेर त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गत सोमबार पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो । 

यसअघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु, सुर्खेत, जाजरकोट लगायत क्षेत्रमा पालिएका कृषकले लोकल कुखुरा र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको थियो ।

विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन, फर्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, नियमित सरसफाईमा ध्यान दिन तथा हाँस, कुखुरा लगायत पन्छीलाई खुला रुपमा नछोड्न कृषकलाई आग्रह गरेको छ । 


प्रतिक्रिया