चौंथो संस्करणको ’हिमालयन हाइड्रो एक्स्पो' आज सुरु हुँदै

वैशाख १२, २०८१ | काठमाडौं

विद्युतको आन्तरिक खपत वृद्धि तथा निर्यात बजारीकरण उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजदेखि चौंथो संस्करणको ’हिमालयन हाइड्रो एक्स्पो आयोजना हुँदैछ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुने एक्स्पो पर्सि शुक्रबारसम्म चल्नेछ । 

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पोको दोस्रो दिन भोलि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुनेछ । तेस्रो दिन अर्थमन्त्री वर्षमान पुन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत अध्यक्षतामा प्राविधिक सत्रमा छलफल हुने आयोजकले जनाएको छ । 

सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य ऊर्जा विकासका विविध आयाम, स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार लगायत विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

यस्तै, विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारी साधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित बिहान इभी र्‍याली समेत आयोजना गरिएको छ । र्‍यालीमा विद्युतीय दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई सहभागी गराइएको छ ।


प्रतिक्रिया