मुलुकभर करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न

श्रावण १६, २०७८ | काठमाडौं

साउन दोस्रो सातासम्म मुलुकभर करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा गरी ९४ दशमलव ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा मुलुकमा ९५ दशमलव ६० प्रतिशत अर्थात १३ लाख ११ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । विभागका अनुसार मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । यसमध्ये हालसम्म ९४ दशमलव ६४ प्रतिशत अर्थात् १२ लाख ९८ हजार २ सय २६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको विभागको तथ्याङ्क छ । 

यो वर्ष सबै भन्दा बढी कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । कर्णालीमा गत वर्ष ९८ दशमलव ८३ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत वर्ष ९८ दशमलव १ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९९ दशमलव ६ प्रतिशत रोपाइँ भएको विभागको तथ्याङ्क छ । 

लुम्बिनी प्रदेशमा ९७ दशमलव २५, बागमतीमा ९६ दशमलव ५२, गण्डकीमा ९४ दशमलव ८५, प्रदेश २ मा ९२ दशमलव ३६ र सबै भन्दा कम प्रदेश एकमा ९० दशमलव ५६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । यो वर्ष समयमै मनसुन सक्रिय भएपनि रोपाइँमा भने केही कमी आएको छ । बीउ राख्ने बेला पानी कम परेकाले पनि केही कमी देखिएको विभागले जनाएको छ । 


प्रतिक्रिया