विगतका वर्षमा झैं यसपटक पनि मुलुकमा मल अभाव

आश्विन २, २०७८ | काठमाडौं

रासायनिक मल आपूर्तिमा देखिएको समस्याका कारण विगतका वर्षमा झैं यसपटक पनि मुलुकमा मल अभाव भएको छ । अन्तर्राष्ट्रिय बजारमा अस्वाभाविक मूल्य वृद्धि र मल खरिदका लागि स्रोत सुनिश्चतता नहुँदा मुलुकमा रासायनिक मलको अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा युरिया, डीएपी र पोटासको मूल्य गत वर्षको भन्दा झण्डै दोब्बरले वृद्धि हुँदा सरकारले चालू आर्थिक वर्षमा मल खरिदका लागि विनियोजन गरेको रकम समेत अपर्याप्त भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो । 

सरकारले यसवर्ष रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर, सो रकमले साढे २ लाखदेखि ३ लाख मेट्रिक टन मात्रै रासायनिक मल खरिद गर्न सकिने कृषि मन्त्रालयले जनाएको छ । 

स्रोत सुनिश्चित नभएकै कारण आयात प्रक्रिया सुरु गर्न ढिलाई भएको र तराईका जिल्लामा मलको अभाव देखिएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताउनुभयो । सरकारले चालू आर्थिक वर्षमा मलको अभाव हुन नदिने दाबी गरेपनि विगतका वर्षझैं यसपटक पनि रासायनिक मल आपूर्तिमा समस्या देखिएको छ । 

धान रोपाइँका बेला अभाव झेलेका किसानले गहुँ र तरकारी बालीमा पनि मलको अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । कृषि मन्त्रालयलका अनुसार हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग हाल ४ हजार १ सय ८० मेट्रिक टन मात्र मल मौज्दात रहेको छ । सो परिमाणको मल एक हप्तालाई पनि पुग्दैन । 

वर्षमा २/३ बाली लगाउँदा १२ लाख मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयका प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो । उत्तरी नाकाबाट आगामी बुधबारसम्म १० हजार मेट्रिक टन युरिया र ५ बजार मेट्रिक टन डीएपी मल ल्याउन लागिएको भन्दै सो परिमाणको मल आयात भएपछि केही सहज हुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया