प्लाष्टिकजन्य कच्चा पदार्थ बोकेका कन्टेनर सीमा नाकामै अलपत्र

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७८ | काठमाडौं

सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाएसँगै नेपाल ल्याउन लागिएका ठुलो परिमाणमा प्लाष्टिकजन्य कच्चा पदार्थ बोकेको कन्टेनरहरु सीमा नाकामै अलपत्र परेका छन । वातावरण प्रदुषणको मुख्य कारण भन्दै वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी झोला उत्पादन, प्रयोग र विक्री वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको थियो । सो निर्णयपछि गत मंगलबारबाट चामल, चाउचाउ, विस्कुट, पानी लगायतका खाद्यन्न तथा पेय पदार्थको प्याकेजिङमा आवश्यक पर्ने प्लाष्टिकको कच्चा पदार्थ बोकेका कन्टेनर सीमा नाकामै रोकिएका हुन् ।

भैरहवामा प्लाष्टिकको सामाग्री बोकेका १५ देखि २० वटा कन्टेनर रोकिएका छन् भने विरगन्ज, विराटनगर सिमा नाकाबाट पनि नेपाल भित्रिन नदिइएको उद्योगी व्यवसायीले जनाएका छन् । प्लाष्टिकको सिट बिना कुनै खाद्य वस्तु , पानी, सुई लगायतको प्याकेजिङ गर्न नमिल्ने हुनाले उद्योगहरुनै धराशयी बन्ने अवस्थामा पुगको नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिनुभयो । व्यवहारिक पक्षको अध्ययन बिनै आएको निर्णयले कतिपय उद्योग बन्द हुने अवस्थामा नै पुगेको उहाँले बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा नै उल्लेख गरी ४० माइक्रोन भन्दा पातलो झोलालाई पूर्ण रुपमा प्रतिवन्ध लगाउने जनाएको थियो सोही अनुसार सोमबारदेखि प्रतिवन्ध लगाएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । झोलामा मात्र प्रतीबन्ध लगाउदा प्रभावकारी नदेखिएकाले आयात र विक्री र प्रयोगमै रोक लगाइएको उहाले बताउनुभयो । व्यवसायीका मागबारे आफुहरु जानकार रहेको र यसविषयमै छिट्टै छलफलमा गरेर निष्कर्षमा पुग्ने वातावरण मन्त्रालयले जनाएको छ ।  


प्रतिक्रिया