गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्नुस : पूर्व अर्थमन्त्री पौडेल

आश्विन ९, २०७८ | तिलोत्तमा

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न सरकारलाई आग्रह गर्नु भएको छ । 

शनिबार उद्योग व्यापार संगठन रुपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोक्नु उचित नभएको बताउनुभयो । 

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य वर्तमान सरकारले ‘होल्ड’ गरेको भन्दै त्यो आफूलाई मान्य नहुने बताउनुभयो । यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी) सँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

‘हामीले सेकेन्ड फेजका काम अगाडि बढाएका थियौं, जसअन्तर्गत आगामी ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङ लगायत आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब रुपैयाँ लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो, उनले भने, एडीबी ऋण सम्झौता गर्न तयार छ । तर, वर्तमान सरकारले काम अगाडि बढाएन ।’ 

गत असारमा दोस्रो चरणको पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको उहाँले बताउनुभयो । 

सोही पत्रका आधारमा एडीबीसँग सम्झौता भएर अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँको भनाई छ । सरकारले एडीबीसँग सम्झौता नगरी योजनाको काम अलपत्र पारेको एमालेका उपमहासचिव पौडेलको आरोप थियो । 


प्रतिक्रिया