सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन

कार्तिक २, २०७८ | काठमाडौं

सरकारले सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गर्ने भएको छ । सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थ मन्त्रालयमा मंगलबार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानून, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, वन, भूमि व्यवस्था मन्त्रालय लगायतका प्रतिनिधि सदस्य रहने छन् । कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासंघसहित विभिन्न निकाय तथा विज्ञबाट प्राप्त सुझावको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेश गर्नेछ । 

मन्त्रालयमा आयोजित छलफलमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनमा संशोधन गर्नुपर्ने विषयहरु बारे प्रारम्भिक मस्यौदा प्रस्तुत गरेको थियो । प्रस्तावित व्यवस्था बमोजिम सार्वजनिक निर्माणको लागि बोलपत्र पेश गर्ने साविकको समय घटाउने प्रस्ताव गरिएको छ । 

अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा १० दिन घटाएर ३५ दिन तथा राष्ट्रिय स्तरको बोलपत्रको हकमा नौ दिन घटाएर २१ दिन प्रस्ताव गरिएको छ । यस्तै बोलपत्र स्वीकृत भएपछि प्रकाशन गरिने आशयको सूचनाको समयावधि पनि घटाउने प्रस्ताव गरिएको छ । 

नयाँ व्यवस्था अनुसार राष्ट्रिय स्तरको बोलपत्रको हकमा तीन दिन र अन्तर्राष्ट्रिय बोलपत्रको हकमा सात दिन लाग्ने व्यवस्था गरिएको छ । शिलबन्दी दरभाउपत्र पेश गर्ने समयावधिलाई पनि १५ दिनबाट सात दिनमा झारिएको छ । 

बैठकमा निर्माण व्यवसायी महासंघका प्रतिनिधिले प्रस्तावित मस्यौदामा गरिएको व्यवस्था आफूहरुलाई स्वीकार्य रहेको प्रतिक्रिया सहित यतिले मात्र पर्याप्त नहुने भन्दै संस्थागत हिसावले ३९ बुँदे सुझाव पत्र पेश गरेका छन् । 

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यलाई गति प्रदान गर्ने, गुणस्तरीय काम गर्ने र पूँजीगत खर्च बढाएर राष्ट्रिय पूँजी निर्माणमा समेत योगदान गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा समसामयिक संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो । 

उहाँले सार्वजनिक निर्माणको गुणस्तर, पारदर्शिता र प्रतिष्पर्धाको मर्मलाई ध्यान दिएर संशोधन प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको लागि परामर्शदाता छनोट गर्दा सम्भव भएसम्म स्वदेशी जनशक्तिलाई प्राथमिकता दिनेगरी व्यवस्था गर्न निर्देशन समेत दिनुभयो । उहाँले श्रम सहकारी मार्फत १० करोड रुपैयाँसम्मको काम गर्न पाउने व्यवस्था कार्यान्वयन हुनेगरी कानूनी व्यवस्था मिलाउन निर्देशन दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय सहित विभिन्न मन्त्रालयका सचिवहरु, सहसचिव तथा विज्ञहरुले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका त्रुटि र सच्याउनुपर्ने विषयको सम्बन्धमा धारणा राख्नुभयो । 

सो क्रममा उहाँहरुले नयाँ सार्वजनिक खरिद ऐनको मस्यौदा तयार गर्नुपर्ने, निर्माण व्यवसायीको वास्तविक क्षमता पहिचान नगरी धेरै ठेक्का एउटै कम्पनीलाई थुपार्ने परिपाटीको अन्त्य गर्नुपर्ने, निर्माण व्यवसायीले तोकिएको समयमा आयोजना सम्पन्न नगरेर वर्षौंसम्म अलपत्र पार्ने गरेको, असल नियतले गरेका निर्णयमा समेत कानूनी संरक्षण नपाउँदा खरिद सम्बन्धी निर्णयमा ढिलाई हुने गरेको लगायत विषय उठाएका थिए । 


प्रतिक्रिया