मुगुमा १९ महिनापछि हवाई उडान सुरु

फाइल फोटो 

कार्तिक १४, २०७८ | मुगु

मुगुको रारा विमानस्थलमा करीब १९ महिनापछि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत्त र नेपाली कांग्रेस सभापति ऐनबहादुर शाहीको विशेष पहलमा निगमले आइतबारबाट नेपालगञ्जदेखि रारा विमानस्थलमा यात्रु सहित उडान सुरु गरेको हो । 

पहिले सातामा दुई वटा उडान गर्दै आएको निगमले विभिन्न कारण देखाउँदै उडान बन्द गर्दा यात्रु मर्कामा परेका थिए । सडकको अवस्था जोखिम हुँदा रारा विमानस्थलमा यात्रुको चाप वृद्धि भइरहेको अवस्थामा निगमको जहाजले उडान सुरु गर्दा केही सहज भएको प्रमुख जिल्ला अधिकारी होमबहादुर महत्तले बताउनुभयो । 

यस्तै, निगमले नेपालगञ्ज–रारा उडानको भाडादर समेत घटाएको छ । निगमले नेपालगञ्जदेखि रारासम्म ५ हजार ३ सय ३५ रुपैयाँ र रारा विमानस्थलदेखि नेपालगञ्जसम्म ५ हजार ३ सय ३५ रुपैयाँ हवाई भाडा कायम गरेको छ । 

यात्रुको चापलाई मध्यनजर गरी वायु सेवा निगमको दैनिक उडानको व्यवस्था मिलाउन पहल भइसकेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । 

लामो समयसम्म निगमको उडान बन्द हुँदा निजी क्षेत्रको वायु सेवा कम्पनी तारा, समिट र सिता एयरलाइन्सले दैनिक ५ देखि ६ वटा उडान गर्दै आएको भएपनि रारा घुम्ने पर्यटकको दोहोरो टिकटले गर्दा स्थानीयलाई भने टिकट पाउन समस्या भएको छ । 

निजी एयरलाइन्सको हवाई भाडादरमा एकरुपता नहुँदा यात्रुलाई सास्ती हुने गरेको छ । चार्टड फलाइटको नाममा निजी एयरलाइन्सले यात्रुबाट ६ हजार ५ सयदेखि ८ हजार ५ सय रुपैयाँसम्म भाडा असूल्दै आएका छन् । 


प्रतिक्रिया