विद्युत खपत बढाउन घरघरमा इन्डक्सन चुलो

कार्तिक २७, २०७८ | बुटवल

उत्पादित विद्युतको खपत बढाउन सरकारले इन्डक्सन चुलो र इलेक्ट्रिक गाडी अभियान सञ्चालन गरिने भएको छ । यसका लागि इन्डक्सन चुलो र इलेक्ट्रिक गाडीमा सहुलियतका कार्यक्रम सञ्चालन हुनेछन् । 

शनिबार रुपन्देहीका बुुटवलमा आयोजित पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको आन्तरिक खपत बढाई उपभोक्ताका घरमा विद्युत क्षमता बढाउने र ठाउँ–ठाउँमा चार्जिङ् स्टेशन बनाउने काम भइरहेको बताउनुभयो । 

उपभोक्ताले घरमा विद्युतीय क्षमता बढाउन चाहेमा आवेदन दिएको एक महिनाभित्र स्थानीय कार्यालय मार्फत निशुल्क क्षमता बढाइदिने काम थालिएको उहाँले बताउनुभयो । देशभर मुख्य सहर र राजमार्गलाई लक्षित गरी विभिन्न ५० वटा इलेक्ट्रिक चार्जिङ सेन्टर निर्माण गरिने भएको छ । 

खपत बढाउन विद्युत बिस्तार र औद्योगिक क्षेत्र एवं उद्योगको माग अनुसार वितरण गर्ने प्रक्रिया समेत बढाइएको छ । भैरहवाको धकधइ, नवलपरासीको परासी र सुनवल क्षेत्रमा विद्युतको माग बढेको घिसिङले बताउनुभयो । बुटवल मैनहिया १३२ केभी प्रशारण लाइन सकिएपछि भैरहवा, लुम्बिनी क्षेत्रमा समेत माग अनुसार विद्यत दिइने प्राधिकरणले जनाएको छ । 

विद्युत खपत बढाउन रुपन्देहीको मैनहियाबाट भारतको उत्तर प्रदेश जोड्न सम्पतीया १३२ केभी लाइन बिस्तार थालेको छ । हाल देशभरमा २ हजार १ सय मेघावाट विद्युत उत्पादन भइरहेको छ । आगामी वर्ष ५ सय मेघावाट हुँदै त्यसपछिका वर्षमा हरेक वर्ष १ हजार मेघावाट विद्युत थपिदै जानेछ । 

हाल सुख्खा समय बाहेकमा देशकै विद्युतले पुग्ने गरेको छ । यसवर्ष मंसिर अन्तिम साता वा पुसबाट केही विद्युत आयात गर्नुपरे पनि आगामी वर्षदेखि सुख्खा मौषममा पनि विद्युत आयात गर्न नपर्ने निर्देशक घिसिङले बताउनुभयो । 

विद्युत प्राधिकरणले हाल त्रिशूली र देवघाटको २० मेघावाट विद्युत दैनिक अनलाइन मार्फत बेच्दै आएको छ । कोशी र मर्स्याङदीको समेत अनलाईन बिक्रीको तयारी भइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया