गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

पुस १२, २०७८ | गोरखा

गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागि श्रेष्ठको एकल उमेदवारी परेको हो । अध्यक्ष सहित चार पदाधिकारी र दुई सदस्यमा एकल उमेदवारी परेसँगै निर्विरोध निर्वाचित भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा भगवान बाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा तथा वस्तुगत सदस्यमा पर्व बहादुर विक र महिला सदस्यमा रिता रेग्मीको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दवाडीले बताउनुभयो । 

संघको महासचिवमा भने प्रकाशचन्द्र श्रेष्ठ विजयी हुनु भएको छ । महासचिवमा निर्वाचित श्रेष्ठले ३ सय ५५ र उहाँका प्रतिद्वन्दी रामहरी केसी २ सय ७५ मत प्राप्त गर्नुभयो । सचिवमा काजिराम श्रेष्ठलाई पराजित गर्दै चन्दनबाबु खत्री विजयी हुनु भएको छ । 

खत्रीले ३ सय ६५ र श्रेष्ठले २ सय ५७ मत प्राप्त गर्नुभयो । संघको सात सदस्यमा दिपक कुमार श्रेष्ठ, शरण श्रेष्ठ, मनकाजी श्रेष्ठ, बसन्त बस्नेत, शिवध्वज खत्री, अयोध्या जोसी र सुरेन्द्र कुँवर विजयी हुनु भएको छ । 

सात सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धामा थिए । मतदान प्रक्रियामा ६ सय ७० मत खसेको थियो । संघको १६ औं अधिवेशन शनिबारबाट सुरु भएको हो । मतदान भएका पदको मतगणना भने आइतबार राति सकिएको थियो ।


प्रतिक्रिया