अरुण तेस्रोले मुआब्जा नदिएको भन्दै स्थानीय आन्दोलित

माघ ५, २०७८ | संखुवासभा

संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाले काम सुरु भएको ३ वर्ष बितिसक्दा पनि मुआब्जा नदिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । 

अरुण तेस्रो प्रवेशर्माग मुआब्जा पीडित संघर्ष समितिले आजबाट चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । अरुण तेस्रो परियोजना निर्माणको काम ५० प्रतिशत सम्पन्न भईसक्दासम्म पनि मुआब्जा नपाएकाले आन्दोलन गर्न बाध्य भएको समितिले जनाएको छ । 

आजबाट अरुण प्रवेश मार्गको छ्याङकुटी पावर हाउस स्थलमा यातायात ठप्प पारेको संघर्ष समितिका अध्यक्ष जनीकुमार राईले बताउनुभयो । आयोजना प्रभावित झण्डै ४ सय घरधुरी आन्दोलनमा सहभागी छन् । 

लगानी बोर्डले छ्याङकुटी पावर हाउस क्षेत्रमा झण्डै ५ सय २४ रोपनी जग्गाको मुआब्जाका लागि बजेट निकासा गरेको छ । तर, बजेटको बारेमा जिल्ला प्रशासन कार्यालय संखुवासभालाई ४ महिना अगाडि नै जानकारी भएपनि प्रशासनले कुनै सुनुवाई नगरेका कारण आन्दोलन गर्नु परेको पीडितहरुको भनाई छ । 


प्रतिक्रिया