पाल्पाली ढाका पुनरुत्थानको पहल: दुई वर्षभित्र रोजगारीमा ३० प्रतिशतले वृद्धि

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १४, २०७८ | काठमाडौं

नेपालको पहिचानको रुपमा स्थापित पाल्पाली ढाकाको पुनरुत्थानका लागि दुई वर्षअघि शुरु गरिएको पहलपछि स्थानीय रोजगारीमा ३० प्रतिशतले वृद्धि भएको सम्वद्ध निकायले बताएका छन् । बेलायती सहायता नियोग युकेएड तथा तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको कार्यक्रमपश्चात् ४० प्रतिशतले नयाँ उद्यम समेत बृद्धि भएको उनीहरुले बताएका छन् । ती संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार, विभिन्न ९ वटा कम्पनी आवद्ध रहेको परियोजनाले पाल्पाली ढाका बुन्ने कालिगढको क्षमता वृद्धिका साथै त्यसको उत्पादन र बजारमा पहुँच बढाएको छ ।

पाल्पाली ढाकाको बजार विस्तार तथा त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न  परियोजना सन् २०१९ बाट शुरु गरिएको थियो । परियोजना शुरु भएको दुई वर्षको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पाल्पा नगरपालिकाका मेयर अशोक शाहीले पाल्पाली ढाकाको पुनरुत्थानमा पछिल्लो दुई वर्षमा उल्लेखनिय प्रगति भएको बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आफूहरुको साझा प्रयासबाट उपभोक्ताको माग अनुसार पाल्पाली ढाकाको उत्थानका लागि महत्वपूर्ण उपलव्धि हासिल भएको बताउनुभयो ।

कार्यक्रममा पाल्पाली कपडा र सामाग्रीहरुको संकलनसहित नयाँ ब्रान्ड पाल्पालीको शुरुवात् समेत गरिएको थियो । परियोजना अन्तर्गत गठित पाल्पाली ढाका संघले परियोजना सञ्चालनका लागि समन्वय गर्दै आएको छ । 


प्रतिक्रिया