प्रदेश १ मा करिब ३२ प्रतिशत रोपाईं सकियो

असार २१, २०७९

प्रदेश १ मा हालसम्म करिव ३२ प्रतिशत खेतमा धान रोपाई सकिएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्खे धान रोपाई हुने कृषि निर्देशनालयको अनुमान छ । अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाई भएको प्रदेश कृर्षि निर्देशनालयको तथ्याङकमा उल्लेख छ । मोरङमा ८३ हजार ३ सय, सुनसरीमा ५५ हजार र झापामा ८७ हजार ५ सय हेक्टरमा वर्खे धान रोपार्इं हुने निर्देशनालयको अनुमान छ । गतवर्ष असार तेस्रो साता सम्म ४७ प्रतिशत रोपाई भएको थियो । यसपाली पर्याप्त पानी नपर्दा र रसायनीक मलको अभावमा धान रोपाईले गति लिन नसकेको निर्देशनालयका कायम मुकायम निर्देशक प्रकाश डाँगीको भनाई छ । 

सिँचाईको सुविधा भएको स्थानका किसान मल पर्खेर बस्दा रोपाईले गति लिन नसकेको उहाँको भनाई छ । प्रदेशका १४ जिल्लामा बर्खे धान रोपाईका लागि १८ हजार टन डिएपीको माग भएपनि अनुदानको मल आयात गर्ने कृर्षि सामग्री कम्पनीले वर्खे धान रोपाईका लागि डिएपी मल आयात नै गरेन । कम्पनीले चैते धानका लागि आयात गरेको ५ हजार टन डिएपी मात्र किसानलाई उपलब्ध गराएको थियो । त्यस्तै अर्को आयातकर्ता साल्ट ट्रेडिङले ५५ हजार ८ सय ४ बोरा अर्थात करिव २८ टन डिएपी आयात गरेर वितरण गरिरहेको प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । प्रदेशको उच्च पहाडी जिल्ला ताप्लेजुङको ८ हजार ७ सय ३७ हेक्टर मध्ये २७ प्रतिशत, संखुवासभाको १३ हजार ८ सय ५१ हेक्टर मध्ये २० प्रतिशत र सोलुखुम्बुको १ हजार ५ सय २५ हेक्टर मध्ये ४६ प्रतिशत रोपाई भएको छ ।

त्यसैगरी मध्य पहाडी जिल्ला पाँचथरको ९ हजार २ सय ३ हेक्टरको १९ प्रतिशत, इलामको १४ हजार ८ सय १५ हेक्टरको ३५ प्रतिशत, भोजपुरको १८ हजार ९ सय २ हेक्टरको ६० प्रतिशत, तेह्रथुमको १० हजार १ सय ७५ हेक्टरको ३० प्रतिशत, धनकुटाको ७ हजार ९ सय ५० हेक्टरको २५ प्रतिशत, उदयपुरको १३ हजार ३ सय ८० हेक्टरको २४ प्रतिशत, ओखलढुङगाको ४ हजार ४ सय ३ हेक्टरको ४१ प्रतिशत र खोटाङको १२ हजार ८ सय ९८ हेक्टर मध्ये ३५ प्रतिशत खेतमा रोपाई भएको निर्देशनालयकी सूचना अधिकृत सरिता श्रेष्ठले वताइन ।

प्रदेश १ मा गतवर्ष ३ लाख ३६ हजार १ सय २३ हेक्टरमा वर्खे धान रोपाई हुँदा १२ लाख ८२ हजार ५ सय ७२ टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङक छ । रसायनीक मलको अभावमा यसपाली धानको उत्पादन घट्ने निर्देशनालयको पूर्व अनुमान छ ।   


प्रतिक्रिया