१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस ७ बाट

मंसिर १७, २०७९ | तिलोत्तमा

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई विगतको भन्दा परिमार्जित एवं विशिष्ठिकृत गर्ने जनाएको छ । 

आगामी पुष ७ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ लाई विगतको भन्दा नयाँ ढंगको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । राजधानी बाहिर निर्माण भईरहेको आधुनिक प्रदर्शनी स्थलमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीप्रति सबैको चासो बढेको छ । 

बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी केन्द्रमा संघले पहिलो पटक प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी केन्द्रको भौतिक निमार्णको काम पूरा नभएको भएपनि आवश्यक थप कामहरु पूरा गरी कार्यक्रम सम्पन्न गर्न लागिएको उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताउनुभयो । 

नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मुल नाराका साथ प्रदर्शनी आयोजना गर्न लागिएको हो । 

प्रदर्शनीमा स्वदेशी उत्पादन र प्रविधि मात्र समावेश गरिने हुँदा यसको छुटै पहिचान हुने मेला मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष माधव प्रसाद पौडेलको भनाई छ । कोरोनाका कारण लामो समयदेखि प्रदर्शनी आयोजना हुन नसकेकाले पनि यसपटक संघले आयोजना गर्न लागिको प्रदर्शनीप्रति सबैको चासो बढेको उहाँको भनाई छ ।


प्रतिक्रिया