कैलाली र कञ्चनपुरमा प्रसारण लाइन बिस्तार गर्दै प्राधिकरण

मंसिर १९, २०७९ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले कैलाली र कञ्चनपुरमा प्रसारण लाइन बिस्तार गर्ने भएको छ । प्राधिकरणले विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल बिस्तार गर्न लागेको हो । 

तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण तथा बिस्तार गर्ने प्राधिकरणले जनाएको छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने प्राधिकरणले जनाएको छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ लगायतको समस्या रहेको उपभोक्ताको गुनासो छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायत सम्मिलित टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिनु भएको थियो । 

टोलीले नगरपालिका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखसँग छलफल गरी गर्मी सुरु हुनु अघि नै विद्युत आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिम प्रदेशका जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनुसार ३३ केभी लाइन क्षमता भन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोड लगायत समस्या छ । 

कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस्तै, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने र १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङ लगायत समस्या नहुने उहाँको भनाई छ । 

अहिले कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको घिसिङले बताउनुभयो । यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत आयोजनाको करीब एक सय मेगावाट विद्युत अत्तरिया सबस्टेसन मार्फत यस क्षेत्रमा वितरण गर्न सकिने र त्यसबाट धेरै समस्या समाधान हुने घिसिङको भनाइ छ । 

कर्णाली, सेती, र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको घिसिङले बताउनुभयो । 


प्रतिक्रिया