सुनसरी मोरङ औद्योगिक क्षेत्रको उत्पादन ४० प्रतिशत कटौती

माघ ५, २०७९
दैनिक सात घण्टा सम्म विद्युत कटौती र अनियमित आपूर्तिले सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगको उत्पादन ४० प्रतिशत सम्म घटेको छ । अनियमित विधुत आपूर्तिकै कारण फलाम, स्टील र प्लाष्टिक उद्योगले कच्चा पदार्थमा लाखौंको नोक्सान बेहोर्दै आएका छन् । पिक आवर विहान तीन घण्टा र बेलुका तीन घण्टा विधुत कटौती हुँदै आएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले त्यस बाहेक दैनिक १० देखि १५ पटक सम्म ट्रिपिङ हुँदा औधोगिक उत्पादन चौपट भएको बताउनुभयो ।
फलाम, प्लाष्टिक र स्टील उद्योगलाई नियमित विद्युतको आवश्यकता पर्छ । एक पटक विधुत कटौती हुँदा त्यस्ता उद्योगले लाखौको वेष्टेज बेहोर्नुपर्ने उहाँको भनाई छ । प्याकुरेलले केही दिनयता नियमित भएको विद्युत कटौतीले सुनसरी मोरङ औधोगिक क्षेत्रको उत्पादन ४० प्रतिशत कटौती भएको उल्लेख गर्नुभयो । बैंक तथा वित्तिय क्षेत्रको विद्यमान समस्या समाधानका लागि आन्दोलनरत नीजि क्षेत्र नयाँ सरकार गठ भएसंगै समस्याको समाधान हुने कुरामा आशावादी रहदै पर्ख र हेरको अवस्थामा रहेको समयमा पुन: विद्युत आपूर्तिमा अवरोध भई औधोगिक क्षेत्रमा बज्रपात परेझै भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताउनुभयो ।
सुनसरी मोरङ औधोगिक क्षेत्रमा करिव ५ सय उद्योग छन् । विद्यु्त अनियमित आपूर्तिका कारण सातायता प्राय: सबै उद्योग दैनिक सात घण्टा सम्म बन्द हुने गरेको उहाँले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणले भारतवाट हुने विधुत आपूर्तिमै समस्या भएकाले यो अवस्था आएको जनाएको छ ।