भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउँछ : अध्यक्ष मल्ल

माघ १२, २०७९ | काठमाडौं

नेपाल चेम्बर अफ कमर्सले आयात निरुत्साहित र निर्यात प्रवर्धन हुनेगरी ब्यापार सहजीकरण हुनुपर्ने बताएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनुभयो । 

भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने भन्दै उहाँले बिल बिजक लिने/दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पूरा गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उहाँले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । कार्यक्रममा अर्थसचिव तोयम रायले भन्सार नाकाहरुमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउनुभयो । मुलुक विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायले बताउनुभयो । 

भन्सार सुधारको आवश्यक्ता आफूलाई पनि महसुस भएको रायको भनाई छ । भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको बताउनुभयो । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाई छ ।

यसैबीच, नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गर्नुभयो । 

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताउनुभयो । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । 

अर्थ मन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघि रसुवा भन्सार प्रमुखका रुपमा काम गर्नुभएको थियो । अर्थ मन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उहाँले पनि योगदान पुर्‍याउनुभएको थियो । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ । 


प्रतिक्रिया