सुख्खा बन्दरगाह तीन वर्ष भित्रै बन्छ : प्रधानमन्त्री दाहाल

फाल्गुन १, २०७९ | कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहालले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताउनु भएको छ । सोमबार कञ्चनपुरको दोधारा चाँदनी–१ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा सम्पन्न हुने बताउनुभयो । 

प्रधानमन्त्री दाहालले सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने बताउनुभयो । ‘सुख्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात मैले नै गरेको हो,’ सुख्खा बन्दरगाह निर्माण स्थल अवलोकनका लागि दोधारा चाँदनी पुगेका दाहालले भन्नुभयो, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ 

दाहालका अनुसार सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याकंन सकिएको छ । बन्दरगाह निर्माणपछि दोधारा चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने उहाँले बताउनुभयो । 

त्रिदेशीय साँझेदारीको रणनीतिका रुपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्ने उहाँले बताउनुभयो । दाहालले भन्नुभयो, ‘हामी त्यहि लाभ लिने उपायको खोजीमा छौं ।’ 

प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन पक्की पुलका बारेमा पनि जानकारी लिनुका साथै पुलको दुबैतर्फ निर्माणाधिन बाँधका विषयमा केही समस्या भएकाले यसको समाधान गर्न तत्काल मन्त्रिपरिषदबाटै निर्णय गरिने बताउनुभयो । 

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनका लागि महेन्द्रनगर पुगेको प्रधानमन्त्री दाहालले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको फनि निरीक्षण गर्ने कार्यक्रम छ । यहि कार्यत्रम अन्तर्गत उनले सुख्खा बन्दरगाह निर्माण स्थलको निरीक्षण गर्नु भएको थियो । 


प्रतिक्रिया