सिर्सिया सुक्खा बन्दरगाहबाट २० हजार टन युरिया भित्रियो
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/money/urea%20(1).jpg&w=700&height=600)
फाल्गुन २४, २०७९ | पर्सा
कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको ३० हजार मध्ये २० हजार मेट्रिक टन युरिया मल वीरगञ्ज नाका हुँदै नेपाल भित्रिएको छ । वीरगञ्जस्थित कम्पनीको मधेश प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार सिर्सिया सुक्खा बन्दरगाह र वीरगञ्जको सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा गरी ८ रेल्वे र्याकमा मल आई पुगेको हो ।
सामान्यतया एक रेल्वे र्याकले २ हजार ५ सय मेट्रिक टन मल बोक्ने गर्छ । कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको सो मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीले पाएको छ । उसले मलेशियाबाट खरिद गरी भारतको कोलकाता बन्दरगाह हुँदै नेपालमा मल ल्याई रहेको छ ।
कुल ३० हजार मध्ये १२ हजार मेट्रिक टन वीरगञ्ज, १० हजार ५ सय मेट्रिक टन भैरहवा र बाँकी ७ हजार ५ सय मेट्रिक टन मल कम्पनीको विराटनगर प्रादेशिक कार्यालयलाई वितरण गरिनेछ ।
वीरगञ्ज र भैरहवाको लागि वीरगञ्ज नाका हुँदै मल भित्रिदै छ भने विराटनगरका लागि कोलकाताबाट सोझै ट्रकमा ल्याईंदै छ । चैते धान बाली सिजनका लागि ल्याइएको मल माग भएका जिल्लाहरुमा परिचालन समेत भईरहेको मधेश प्रादेशिक कार्यालयका सूचना अधिकृत कुमारले जानकारी दिनुभयो । यसअघि जीटूजी प्रकृयाबाट भित्रिएको युरिया मल माग भएका जिल्लाहरुमा करीब परिचालन समेत भई सकेको उहाँको भनाई छ ।
२० हजार मेट्रिक टन डीएपी कोलकाता आयो
कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको २० हजार मेट्रिक टन डीएपी मल पनि कोलकाता बन्दरगाह आईसकेको कुमारले जानकारी दिनुभयो । स्विस सिंगापुर कम्पनी नै आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्टको मल शुक्रबार कोलकाता बन्दरगाह आईपुगेको हो ।
‘कोलकाता आईपुगेको मल अहिले त्यहा रि प्याकिङ्गको काम भईरहेको छ,’ कुमारले भन्नुभयो, ‘फागुन २८ पछि नेपाल आउँछ ।’ यो मल पनि चैते धान बाली सिजनकै लागि ल्याइएको कम्पनीले जनाएको छ ।