मंगलापुर-कान्छी बजार सडक स्तरोन्नतिका लागि विश्व बैंकको ५९ करोड सहयोग

चैत्र १६, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधिन सडकको स्तरोन्नतिका लागि विश्व बैंकले आर्थिक सहयोग गरेको छ । तिलोत्तमा–९ मंगलापुरदेखि कान्छी बजार जोड्ने सडक स्तरोन्नतिका लागि विश्व बैंकले ५९ करोड ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

४ दशमलव ८६ किलोमिटरको सो सडकखण्डको बिहीबार एक कार्यक्रमबीच विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी देवी चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । 

सो अवसरमा विश्व बैकका कन्ट्री म्यानेजर जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएको मध्य तिलोत्तमा नगरपालिकाले मात्रै काम थालेको बताउनुभयो । कृषि उत्पादन र बजारीकरणको लागि सहजता होस् भन्ने उद्देश्यले ऋण सहयोग गरिएको उहाँले बताउनुभयो । नगरपालिकाका प्रमुख खाँणले निर्माणाधिन सडक समयमै सम्पन्न हुने गरी काम भइरहेको बताउनुभयो ।

सडक निर्माणसँगै त्यहाँका स्थानीयलाई आर्थिक उपार्जनमा जोड्ने उहाँले बताउनुभयो । ‘कृषिलाई आर्थिक विकाससँग जोडेर बाटो बनाउन विश्व बैंकले सहयोग गरेको छ’, खाँणले भन्नुभयो, ‘निर्माण सम्पन्न हुनका लागि स्थानीयको समेत सहयोगको आवश्यक छ ।’

नगर प्रमुख खाँणले यो सडकको स्तरोन्नतिपछि कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाका पुग्न सहजता र आन्तरिक पर्यटक भित्रयाउनको लागि निकै महत्वपूर्ण साबित हुने बताउनुभयो । 

अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहेपनि अझै १.२ किलोमिटर थप्ने पहल भईरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा तिलोत्तमाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले निर्माणाधिन सडकले तिलोत्तमाको वडा नम्बर ७ देखि ९ सम्मका स्थानीय लाभान्वित हुने बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह समेत गर्नुभयो ।

तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडक स्तरोन्नतिका लागि २०७९ भदौ २३ मा सम्झौता भएको भन्दै अहिलेसम्ममा १४ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । 

अहिले साइट क्लियरेन्स, तटबन्ध भर्ने, ढुङ्गा चिन्ने लगायत काम भईरहेको उहाँले जानकारी दिनुभयो । सडक स्तरोन्नतिका शर्मा–सगुन–जेभी बुटवलले ५९ करोड ३ लाख ८ हजार ८ सय ९० रुपैयाँमा ठेक्का पाएको छ । 

निर्माणाधिन सडक २०८१ भदौ २२ गतेसम्ममा सम्पन्न गर्नेगरी शर्मा–सगुन–जेभी बुटवलले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिनुभयो । नगरपालिकाका अनुसार नाली माथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्ट निर्माण हुने छन् । 


प्रतिक्रिया