दसौँ राष्ट्रिय खेलकुद मंसिरभित्र सम्पन्न गर्ने तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

श्रावण १२, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन खेलको पूर्वसन्ध्यामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तत्काल थाल्न निर्देशन दिनुभएको हो । उहाँले प्रतियोगिताको मिति र स्थान गहिरो अध्ययनपछि मात्र निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न आग्रह गर्नुभयो । 

परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायत सहभागी थिए । 


प्रतिक्रिया