सघन मत्स्य पालन प्रविधि अनुसन्धानको नतिजा उत्साहजनक

वैशाख २३, २०८० | पर्सा

पर्साको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयमा सघन मत्स्यपालन प्रविधिमा भईरहेको अनुसन्धानको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको प्राविधिकले दाबी गरेका छन् । कम जमिनमा ठूलो पोखरीमा भन्दा बढी माछा पालेर राम्रो आम्दानी गर्न सकिने प्रविधिको निर्देशनालयमा गत वर्षदेखि अनुसन्धान जारी छ ।

निर्देशनालयका निर्देशक डा विशेश्वर प्रसाद यादवले १ वर्षदेखि जारी अनुसन्धानको नतिजा उत्साहजक रहेको बताउनुभयो । भारतको पश्चिम बंगाल र आन्ध्र प्रदेशमा यो प्रविधिबाट सफलतापूर्वक माछा पालन हुँदै आएको भन्दै नेपालमा पनि यो प्रविधिबाट व्यावसायिक माछा पालन हुन सक्छ कि भनेर अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

यो प्रविधिबाट धान खेत नमासेर १ कठ्ठा वा त्यो भन्दा पनि कम जग्गामा समेत माछा पालन गर्न सकिने उहाँको भनाई छ । निर्देशनालयका मत्स्य विभागका प्राविधिक अधिकृत शिवनारायण मेहताले पहिलो चरणमा टिलापिया जातको माछाको अनुसन्धान सकिएको भन्दै अन्य जातका माछामा पनि अनुसन्धान भईरहेको जानकारी दिनुभयो । उहाँले ५ वर्ष नियमित अनुसन्धान गरेपछि यो प्रविधि किसान माझ सिफारिश गर्ने योजना रहेको बताउनुभयो । 


प्रतिक्रिया