बजेटले औधोगिक क्षेत्रको मनोबल बढाउन सकेन

जेष्ठ १६, २०८० | विराटनगर

कोशी प्रदेशका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको बजेट परम्परागत निरन्तरता भएको बताएका छन् । उनीहरुले कोशी प्रदेशको निजी क्षेत्रका माग र समस्यालाई बजेटले सम्बोधन गर्न चुकेको औंल्याउँदै आर्थिक मन्दीका कारण रुग्ण उद्योग व्यवसाय क्षेत्रको मनोबल बजेटले बढाउन नसकेको गुनासो गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आफूहरुले अर्थमन्त्री समक्ष प्रस्तुत गरेका कुनैपनि माग र समस्यालाई बजेटले सम्बोधन नगरेको बताउनुभयो । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटले परम्परागत रुपमा निरन्तरता मात्र पाएको उद्योगीको बुझाई छ ।

बजेट औद्योगिक क्षेत्रका नाममा निराशजनक रहेको उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । विगत अढाई दशकदेखि निर्माण सुरु गरेको चक्रपथ निर्माणलाई बजेटले बेवास्ता गर्दा समग्र विराटनगरको विकास प्रभावित भएको भन्दै उहाँले बजेटले अख्तियारी गरेको राजश्व असुली नीति सफल हुनेमा आशंका व्यक्त गर्नुभयो । बजेटका केही नीति शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने देखिए पनि यसको कार्यान्वयनमा निर्भर रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको बुझाई छ । 


प्रतिक्रिया