पर्साका दुबै भन्सारको राजश्व असूली निराशाजनक

असार ३, २०८०

विश्वव्यापी आर्थिक मन्दीको कारण समग्रमै आयात निर्यात व्यापार घटेपछि वीरगन्जका दुबै भन्सार कार्यालय यस आर्थिक बर्षमा लक्ष्य अनुरुप राजश्व उठाउन नसक्ने देखिएको छ । पर्सास्थित वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले यस बर्ष भन्सार विभागबाट प्राप्त बार्षिक राजश्व असूलीको ६० प्रतिशत हाराहारी मात्र राजश्व संकलन गर्ने संकेत दुबै भन्सारको जेठ महिना सम्मको राजश्व असूलीको तथ्यांकले देखिएको छ । वीरगन्ज भन्सार कार्यालयले जेठ महिनामा २३ अर्ब ४२ करोड रुपैया राजश्व असूलीको लक्ष्य पाएकोमा लक्ष्यको ५९ दशमलव ३८ प्रतिशत मात्र अर्थात १३ अर्ब ९० करोड रुपैया मात्र राजश्व असूली गर्न सकेको छ । 

चालु आर्थिक वर्षको जेठ सम्ममा २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएकोमा लक्ष्यको ५४ दशमलव ५१ प्रतिशत अर्थात १ खर्ब ४२ अर्ब २५ करोड रुपैया मात्र राजश्व संकलन गरेको छ । देशभरीकै भन्सार कार्यालयहरु मध्ये सर्वाधिक राजश्व संकलन गर्दै आएको सो भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएको छ । यस्तै सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जेठ महिनामा ६ अर्ब २३ करोड ८५ लाख ६६ हजार रुपैयाँ राजश्व असूली गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ६४ दशमलव ८० प्रतिशत अर्थात ४ अर्ब ३० करोड २२ लाख ४ हजार रुपैया मात्र राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकाल चालु आर्थिक वर्षमा नयाँ सवारी साधन र इन्धनको आयात समेत घटेको बताउनुभयो । 


प्रतिक्रिया