वीरगञ्जका दुबै भन्सार राजश्वको लक्ष्य भेटाउन असफल

श्रावण १, २०८० | पर्सा

गत आर्थिक वर्ष २०७९/८० मा पर्साको वीरगञ्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असूली घटेको छ । आर्थिक मन्दीको असरले आयात घट्दा दुबै भन्सार कार्यालयको राजश्व असूली लक्ष्यको ६० प्रतिशतमा खुम्चिएको हो । भन्सार विभागले गत आर्थिक वर्षका लागि २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ बराबरको राजश्व असूलीको लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले ६० दशमलव १९ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ मात्र संकलन गर्न सकेको छ । अघिल्लो वर्ष यो भन्सारले लक्ष्यको शत प्रतिशत राजश्व असूली गरेको थियो ।

यता, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत मात्र राजश्व असूली गर्न सकेको छ । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएकोमा ४२ अर्ब ४० करोड २२ लाख रुपैयाँ संकलन गर्न सकेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विश्वव्यापी आर्थिक मन्दी, पेट्रोलियम पदार्थको आयातमा कमी तथा नयाँ सवारी साधनको आयात पनि घट्नुले राजश्व असूली प्रभावित भएको बताउनुभयो ।


प्रतिक्रिया