गण्डक नरहमा भारतले सम्झौताको आधा मात्र दियो पानी

श्रावण ६, २०८० | पर्सा

गण्डक नहरमा भारतीय पक्षले सम्झौता अनुसार पानी उपलब्ध नगराउँदा नहरमा आश्रित किसानहरुको धान रोपाइँ प्रभावित भएको छ । सम्झौताको आधा मात्र पानी दिंदा पर्सा–बारामा आलोपालो गरी नहरमा पानी वितरण गर्ने बाध्यता आएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ । 

समयमै वर्षा नभएको बेला नहरमा पर्याप्त पानी समेत नपाएपछि यसवर्ष बारा र पर्सामा रोपाइँ झनै कम हुने स्थिति आएको किसानहरुले बताएका छन् । नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार हाल भारतीय पक्षले नहरमा ४ सय २१ क्युसेक मात्र पानी दिएको छ । भारतसँगको गण्डक सम्झौता अनुसार नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्ने हो ।

‘यो सम्झौता आधा भन्दा पनि कम परिमाण हो,’ इन्जिनियर सुरेश साहले भन्नुभयो ‘शुक्रबार हामीले भारतको रामनगरस्थित दोन कार्यालय तथा त्रिवेणीस्थित नहरको मुख्य संरचना रहेको व्यारेजसम्मै पुगेर भारतीय अधिकारीहरुसँग यसबारे गम्भीर छलफल गरेका थियौं ।’

नहरको त्रिवेणीस्थित मुहानबाट भारतीय पक्षले त्रिवेणी, तिरहुत र गण्डक गरी ३ वटा नहरमा पानी छोडेकोमा गण्डक नहरतर्फ १ हजार ५ सय क्युसेक पानी छोडेको साहले बताउनुभयो । तर, भारतीय भूमि हुँदै नेपालसम्म आउँदा नेपाली भूमिको गण्डक नहरमा जम्मा ४ सय २१ क्युसेक पानी आईरहेको कार्यालयका इन्जिनियर साहले बताउनुभयो ।

‘भारतीय पक्षले आफ्नो भूमितर्फ किसानलाई बढी पानी दिएर नेपाली किसानका लागि कम पानी दिएको स्थिति प्रष्ट छ,’ उहाँले भन्नुभयो ‘हामीले भारतीय अधिकारीहरुलाई यसरी सम्झौता बमोजिम पानी नदिएर नेपाली किसानलाई विभेद गर्नु गलत भएकाले अविलम्ब सम्झौता बमोजिमको पानी नेपालतर्फ दिन दबाब दिएका छौं ।’

भारतीय पक्षले सम्झौता बमोजिम पानी नदिए पर्सा र बारा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो तर्फबाट दबाब सृजना गरी सम्बन्धित निकाय मार्फत दिल्लीसम्म दबाब पुर्‍याएर भएपनि सम्झौता बमोजिमको पानी लिन आफूहरु पछि नपर्ने भनि भारतीय अधिकारीहरुलाई सचेत गरेको साहले जानकारी दिनुभयो । ‘भारतीय पक्षले भारतीय भूमिमा नहर प्रणाली कमजोर भएकाले नहरमा पर्याप्त पानी छोड्न समस्या भईरहेको जवाफ दिएको,’ उहाँले भन्नुभयो ‘तर यो भारतको आन्तरिक समस्या हो, हामीलाई सम्झौता बमोजिम पानी दिनैपर्छ ।’

नहरमा पानी कम आएपछि हाल पर्सा र बारामा ३/३ दिन गरी आलोपालो पानी वितरण गर्नु परेको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका इन्जिनियर साहले बताउनुभयो । ‘शनिबार रातिसम्म बारामा पानी वितरण गरेर आइतबारदेखि ३ दिन पर्सामा वितरण गरिने छ, रौतहटसम्म पानीनै पुग्दैन,’ उहाँले भन्नुभयो, ‘२५ वर्ष अघि दुबै जिल्लाका जल उपभोक्ता समितिहरुको आपसी समझदारीमा यो नियम बसालेर नहरमा पानी कम आएको वर्ष पानी उपभोग गर्ने गरिएको छ ।’

हाल नहरको १० नम्बर ब्लक अर्थात बाराको पिपरपाती क्षेत्रसम्म मात्र नहरमा पानी पुगेको छ । नहरमा कुल १५ ब्लक रहेको छ । गण्डक ब्यारेजको निर्माण भारतले आफै गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैले गर्छ । नहर निर्माण भएदेखिनै भारतीय पक्षले ब्यारेजबाट नेपाल भन्दा भारतीय भूमिमा बढी पानी लगेको छ । 

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । 

पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमी रहेको छ । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भएपनि बर्सेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी नेपाललाई दिंदैन ।


प्रतिक्रिया