इन्धन तस्करी रोक्न भन्सार बिन्दुमै तौल गर्न थालियो

आश्विन ११, २०८० | पर्सा

पेट्रोलियम पदार्थको तस्करी नियन्त्रणका लागि पर्साको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमै ट्यांकर सहित इन्धनको तौल गर्न थालिएको छ । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरले नै तस्करी गरेको खुलेपछि वीरगञ्ज भन्सार कार्यालय र नेपाल आयल निगमको आपसी समझदारीमै मंगलबारदेखि आईसीपी परिसरमा इन्धन सहितको ट्यांकरको तौल गर्न थालिएको हो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धन बहादुर बरुवालले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको तथ्यांक पनि राख्न सुरु गरिएको बताउनुभयो । सामान्यतया एउटा ट्यांकरले २० हजार लिटर इन्धन बोक्छन् । त्यस भन्दा बढी इन्धन बोकेको पाइए त्यो तस्करी प्रमाणित हुने प्रमुख भन्सार अधिकृत बरुवालले बताउनुभयो । हाल वीरगञ्ज नाकाबाट दैनिक सरदर ८५ वटा ट्यांकरले भारतको बरौनीबाट पेट्रोल ढुवानी गर्ने गरेका छन् । डिजेल भने मोतिहारी–अमलेखगञ्ज पाइप लाइनबाट सोझै नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा भित्रिने गरेको छ ।


प्रतिक्रिया