बुटवल उद्योग वाणिज्यको संघको अध्यक्षमा श्रेष्ठ र अर्यालबीच प्रतिस्पर्धा

आश्विन १३, २०८० | तिलोत्तमा

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन असोज १९ गतेदेखि रुपन्देहीको बुटवलमा हुँदैछ । तीन दिनसम्म चल्ने साधारण सभा तथा अधिवेशनबाट संघको नयाँ नेतृत्व समेत चयन हुनेछ । 

संघको नयाँ नेतृत्व चयनका लागि यही असोज २२ गते हुने निर्वाचनमा हरिप्रसाद अर्याल र दिनेशकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो । चुनावी सरगर्मी बढेसँगै यस पटकको अधिवेशनलाई महत्वका साथ हेरिएको छ । 

संघको अध्यक्षका प्रत्यासी अर्याल विगतको निरन्तरतालाई क्रमभंग गर्ने तयारीमा छन् भने, श्रेष्ठ विगतको परिवेशलाई निरन्तरता दिने तयारीमा हुनुहुन्छ । श्रेष्ठ र अर्याल दुई छुट्टाछुट्टै प्यानल बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा व्यस्त हुनुहुन्छ ।

श्रेष्ठले बिहीबार बुटवलमा एक कार्यक्रम आयोजना गरी आफू अध्यक्ष रहने गरी उम्मेदवारी सार्वजनिक गर्नु भएको छ । श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा नवीन प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विकले उम्मेदवारी घोषणा गर्नु भएको छ । 

त्यस्तै कोषाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा अफिर हुसेनले उम्मेदवारी घोषणा गर्नु भएको हो । अध्यक्ष प्रत्यासी श्रेष्ठलाई संघका पूर्व अध्यक्षहरुले पनि साथ दिएका छन् ।

यस्तै, संघको अध्यक्षका अर्का प्रत्यासी अर्यालले पनि आफू नेतृत्वमा छुट्टै प्यानल घोषणा गरिसक्नु भएको छ । अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सह कोषाध्यक्षमा धनाकुमारी खनालले उम्मेदवारी घोषणा गर्नु भएको छ । 

अध्यक्षका प्रत्यासी अर्यालले यसअघि कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने, श्रेष्ठसँग कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकको अनुभव छ ।

अधिवेशनमा संघका एक हजार ७ सय ७८ व्यवसायीले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । 


प्रतिक्रिया