मुआब्जा विवाद मिलेपछि अरुण तेस्रोको काम सुरु

कार्तिक २३, २०८० | संखुवासभामा

विगत ६७ दिनदेखि ठप्प रहेको संखुवासभामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम आजबाट पुनः सुरु भएको छ । आयोजना प्रभावितलाई मुआब्जा दिने विषयमा सहमति पछि विद्युत गृह स्थलको काम आजबाट पुनः सुरु भएको हो । 

सरकारले आयोजना प्रभावितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयको खातामा पठाएपछि स्थानीयले विरोधका कार्यक्रम स्थगत गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा मुआब्जाको कागजपत्र अड्किएपछि स्थानीयले गत भदौ १६ गतेदेखि अरुण तेस्रो आयोजनाको प्रवेश मार्गको काम रोकेका थिए ।

छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरणमा विवाद हुँदै आएको थियो । सरकार र आयोजना प्रभावित पक्षबीचको सहमतिपछि अब प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने छन् । 

जिल्ला प्रशासन कार्यालयमा गठित छुट मुआब्जा निर्धारण समितिले गत बैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो विद्युत् आयोजना भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको छ । 


प्रतिक्रिया