सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ स्टेशन सञ्चालनमा

मंसिर १७, २०८० | सिमरा
नेपाल आयल निगमले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।
निगमले १६ किलो लिटर र ११ किलो लिटर गरि २७ किलो लिटर क्षमताको रिफ्यूलिङ स्टेशन सञ्चालनमा ल्याएको हो । आयल निगमले स्थापना गरेर सञ्चालनमा ल्याएको सो रिफ्यूलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रुपमा रहेको सो विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन ।
यो सँगै अब काठमाडौबाट उडान गर्ने वा काठमाडौमा अवतरण गर्ने आन्तरिक उडानका विमानहरुले सो विमानस्थलबाट हवाई इन्धन भर्ने सुविधा पाउने भएका छन् । निगमको बार्षिक नीति अनुसार सिमरा विमानस्थलमा सो स्टेशन सञ्चालनमा ल्याइएको प्रवक्ता मनोज ठाकुरले बताउनुभयो ।