तुम्लिङटार विमानस्थलमा ४ दिनदेखि उडान अवरुद्ध

माघ २०, २०८० | संखुवासभा

बाक्लो तुवाँलो लागेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा विगत ४ दिनदेखि उडान अवरुद्ध भएको छ । प्रतिकूल मौसमका कारण गत बुधबारदेखि तुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन नसकेको हो । 

उडान सेवा अवरुद्ध भएपछि यात्रुहरुको आवागमन प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण उडानका लागि भिजिबिलिटी कम भएपछि दैनिक उडानहरु अवरुद्ध हुँदै आएको तुम्लिङटार विमानस्थल कार्यालयले जनाएको छ । 

उडानका लागि कम्तिमा ३ हजार ५ सय देखि ५ हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ । विमानस्थल वरपरको भिजिबिलिटी अहिले १ हजार मात्र रहेको जिल्लास्थित नागरिक उड्यान प्राधिकरण कार्यालयले जनाएको छ । 

जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । तुम्लिङटार विमानस्थलमा निजी क्षेत्रको बुद्ध एयरलायन्सको एटीआर–७२ ले दैनिक उडान भर्दै आएको थियो ।


प्रतिक्रिया