एउटा सूचक औँल्याएर संस्था सकिएको भन्न मिल्दैन : डेपुटी गभर्नर मिश्र

फाल्गुन १३, २०८० | काठमाडौं

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोेर हुँदैमा संस्था नै धराशयी नहुने बताउनु भएको छ । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा डेपुटी गभर्नर मिश्रले कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने बताउनुभयो । 

बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्ने भएकोले यो क्षेत्र सवेदशील भएको भन्दै उहाँले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था धराशयी भयो भन्न उचित हुने बताउनुभयो । 

‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन् । त्यसैले यो क्षेत्रलाई सवेदशील मानिन्छ’, उहाँले भन्नुभयो, ‘बैंकहरुले निक्षेपकर्ताको करीब ६२ खर्ब रुपैयाँको निक्षेप बोकेर बसेका छन् । यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन ।’ 

कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने उहाँले बताउनुभयो । त्यसकारण यस्ता सवेदनशील क्षेत्रको बारेमा कुनै समाचार प्रवाह गर्दा निक्षेपकर्ताको विश्वासलाई ख्याल गर्नुपर्ने मिश्रको भनाइ छ । 

पछिल्लो समय कुनै बैंकको एक एउटा सूचकलाई हेरेर संस्था नै डुब्न लागेको भन्ने सूचना सम्प्रेषण हुँदा त्यसको खण्डन गर्न केन्द्रीय बैंकले विज्ञप्ति नै जारी गर्नुपरेको समेत उहाँले बताउनुभयो ।

अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) सहज अवस्थामा रहेको डेपुटी गभर्नर मिश्रको दाबी छ । ‘अहिले बैंकहरु तरलताको सहज अवस्थामा छन् । तरलतालाई हेर्दा बैंकहरु सहज अवस्थामा हुँदा बैंकहरुको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन’, उहाँले भन्नुभयो, ‘त्यसैले यस्तो संवेदनशील क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ ।’ 

पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सबै क्षेत्रको मनोबल घटेको छ । ब्याजदर घट्दो अवस्थामा हुँदा विस्तारै कन्फिडेन्स बढाउनुपर्ने देखिन्छ । केन्द्रीय बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले यस क्षेत्रमा जाने कर्जा बढ्ने र कन्फिडेन्ट बढ्ने उहाँले बताउनुभयो । 

बढ्दो रेमिट्यान्स र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको मिश्रले बताउनुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैकिङ क्षेत्रमा देखिएको समस्या क्षणिक भएको बताउनुभयो । उहाँले परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर पर्दा खराब कर्जा बढ्ने र नाफा खुम्चिने अवस्था बनेको बताउनुभयो ।

अवस्था सधैं एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जाँदा बैंकिङ सेक्टर पनि राम्रो बन्ने ढुंगानाको भनाई छ । 

‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उहाँले भन्नुभयो, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ ।’

अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा देखिँदा आगामी समयमा बैंकहरुले ७÷८ प्रतिशत बढी लाभांश दिनसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो । आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरण योग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ ढुंगानाले भन्नुभयो, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ । रिटर्न अन इक्वीटी कति छ । लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ ।’


प्रतिक्रिया