चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनः अर्थमन्त्री महत

फाईल फोटो  

फाल्गुन १६, २०८० | काठमाडौं

अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन हुने बताउनुभएको छ । 

अपेक्षा अनुसारको पुँजीगत खर्च हुन नसकेको, राजश्व संकलनको लक्ष्यमा चाप एवं आर्थिक गतिविधि केही सुस्त रहेकाले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन रहेको अर्थमन्त्री महतको भनाई छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै उहाँले गत वर्षको तुलनमा भने यो वर्ष आर्थिक वृद्धि हुने बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले अपेक्षा अनुसार खर्च गर्न नसकेपछि आकार घटाएको थियो । मध्यावधी समीक्षा मार्फत २ खर्ब २१ अर्ब बजेट घटाएर अर्थ मन्त्रालयले १५ खर्ब ३० अर्ब रुपैयाँको बनाएको छ ।

 बजेटमा महत्वकांंक्षी कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नहुने प्रवृत्ति यो वर्ष पनि दोहोरिएको छ । यद्यपि, राज्यले समेट्नुपर्ने क्षेत्र र आवश्यकता धेरै हुँदा बजेटको आकार ठूलो हुने तर स्रोतमा भने संधै दबाब पर्ने महतले बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ३ महिना अघि नै विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरिसकेको छ । सो प्रस्तावमा प्रतिनिधिसभामा अर्को साताबाट छलफल हुँदैछ ।  


प्रतिक्रिया