अर्थतन्त्रलाई खराब स्थितिबाट आफूले लयमा ल्याएको निवर्तमान अर्थमन्त्री महतको दाबी

फाल्गुन २९, २०८०

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई खराब स्थितिबाट आफूले लयमा ल्याएको दाबी गर्नुभएको छ । नेपाली कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले शिथिलतामा रहेको अर्थतन्त्रलाई लयमा आफुहरुले फर्काएको दाबी गर्नुभएको हो । माओवादी–कांग्रेस गठबन्धन टुट्नुमा पूर्व अर्थमन्त्री महत र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बिग्रिएको सम्वन्ध समेत कारक भएको टिप्पणी भइरहँदा महतले यस्तो स्पष्टीकरण दिनुभएको हो ।

विगत केही वर्षदेखि नै अर्थतन्त्रको अवस्था खराब भएको भन्दै आफुले पद सम्हालेयता अर्थतन्त्रमा धेरै नै सुधार आएको उहाँले दाबी गर्नुभयो । राष्ट्र बैंकबाट प्रकाशित पछिल्लो समीक्षाबाट अर्थतन्त्र लयमा फर्केको स्पष्ट हुने उहाँको भनाई छ । महतले आफूले अर्थ मन्त्रीका रुपमा जथाभाबी नगर्दा प्रधानमन्त्रीले आफुमाथि आरोप लगाएको बताउनुभयो ।

यस्तै, घरजग्गा कारोबारदेखि अन्य सूचक सकारात्मक बन्दै गएको भन्दै महतले पर्यटन व्यवसायले गति लिएको र होटल रेष्टुरेन्ट व्यवसायले गति लिएको बताउनुभयो । 


प्रतिक्रिया