बुटवलमा ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने

चैत्र १५, २०८० | तिलोत्तमा

रुपन्देहीको बुटवलमा ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने भएको छ । स्थानीय उद्यमशीलतालाई सुदृढ बनाउनको लागि यो परियोजना सञ्चालन गर्न लागिएको हो । 

परियोजना सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ र इम्प्याक्ट हब काठमाडौंबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा संघका अध्यक्ष हरिप्रसाद अर्याल र परियोजनाको तर्फबाट इम्प्याक्ट हव काठमाडौंकी उपनिर्देशक आरती श्रेष्ठले हस्ताक्षर गर्नुभयो । 

स्थानीय उद्यमशीलतालाई सदृढ बनाउनको लागि ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन गर्न लागिएको र यो परियोजनाले ३ वर्षसम्म इन्कुभेटर कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले बताउनुभयो ।

परियोजना सञ्चालन गर्नको लागि संघमा विजनेश इन्कुवेटर सेन्टर स्थापना गरिने छ । युरोपियन कमिसनले सहयोग तथा इम्प्याक्ट हव एसोसिएसन, इम्प्याक्ट हब काठमाडौं र वाईल्ड लाइफ कन्जरभेसन नेपालको सहकार्यमा सञ्चालित यो परियोजना मार्फत नेपालमा हरित अर्थतन्त्रको प्रणाली बिस्तार गर्ने लक्ष्य राखिएको छ ।

परियोजना सञ्चालन हुने अवधिमा नेपाली नीतिमा आधारभूत परिवर्तन गर्ने, यसमा नवउद्यमीलाई सहभागी गराउने र सर्कुलर अर्थतन्त्रको सिद्धान्त आत्मसात गर्न उद्यमशील परिदृश्यको विकास गर्ने प्राथमिक लक्ष्य राखिएको छ । 

यो परियोजना लुम्बिनी र बाग्मती प्रदेशमा सञ्चालन हुनेछ । यो परियोजनाले सूक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्तिकरण गर्ने, सर्कुलर अर्थतन्त्रको नीति विकासको लागि शैक्षिक संस्थाहरुसँग सहकार्य गर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । 

बहुपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्धन गर्न नेपाल सर्कुलारिटी एलाइन्स स्थापना गर्ने उहाँको भनाई छ । परियोजना सञ्चालन भएपछि यस क्षेत्रको उद्यमशीलता विकासमा उल्लेखनीय सहयोग पुग्ने संघका अध्यक्ष अर्यालले विश्वास व्यक्त गर्नुभयो । 


प्रतिक्रिया