आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ बढायो, ग्यासको मूल्य भने यथावत

चैत्र १९, २०८० | काठमाडौं
नेपाल आयल निगमले आजबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले आजबाट लागू हुने पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार डिजेल र मट्टितेलमा ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटेर आएको ।
ग्यासमा अझै प्रतिसिलिन्डर २ सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासमा घाटा रहेकोले मूल्य समायोजन नगरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मूल्य बढेसँगै काठमाडौँ, पोखरा, दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ५८ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७० तथा डिजेल र मट्टितेल १ सय ५७ रुपैयाँ तोकिएको छ ।
झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ६८ रुपैयाँ ५ पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।
