केआईसिंहका किसानलाई पावर टेलर हस्तान्तरण

चैत्र २९, २०८० | डोटी

डोटीको केआईसिंह गाउँपालिकाले किसानहरुलाई मिनि पावर टेलर हस्तान्तरण गरेको छ । आधुनिक कृषि प्रणाली अपनाउन चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गाउँपालिकाले ९ कृषक तथा २ वटा समूहका लागि ११ वटा पावर टेलर हस्तान्तरण गरेको हो । 

गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले व्यावसायिक रुपमा खेती किसान गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्न उपकरणहरु उपलब्ध गराएको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष शाही र उपाध्यक्ष मिना देवी विष्टले बुधबार संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पावर टेलर किसानहरुलाई हस्तान्तरण गर्नु भएको हो । पावर टेलर पाएपछि केआईसिंह गाउँपालिका–३ का बहादुर बडैलाले खेतबारी जोत्न सहज हुने बताए । 

‘गोरुले खेत जोत्न असाध्यै मेहनत गर्नुपथ्र्यो,’ बडैलाले खुसी व्यक्त गर्दै भने, ‘अब खेतबारीमा एक्लैले खनजोत गर्न सजिलो हुने आशा छ ।’ 

गाउँपालिकाका कृषि शाखा प्रमुख यज्ञ रावलले ७ हर्सपावरको मिनि पावर टेलर जनालाई हस्तान्तरण गरिको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २ वटा मिनि पावर टेलर अर्को दिन हस्तान्तरण गर्ने योजना छ । 

‘एउटा पावर टेलरको ७५ हजार मूल्य परेको छ’, उहाँले भन्नुभयो, ‘जसमा ५० प्रतिशत पालिका तथा ५० प्रतिशत कृषकहरुको लगानी रहेको छ ।’ 

पावर टेलर पाउनेमा वडा नम्बर–२ का झकेन्द्र बम, योगेन्द्र माझि, वडा नम्बर–३ का बहादुर बडैला, चक्र बहादुर कुँवर, वडा नम्बर–४ का कृष्ण बहादुर कुँवर, झिमे मालिका मावि, गणेश कार्की, वडा नम्बर–५ का धन बहादुर राणा, वडा नम्बर–६ राम बहादुर बलायर, वडा नम्बर–७ को चौड कृषक समूह रहेका छन् । 

अनुदानका लागि आवेदन माग गरेका ११ वटै व्यक्ति तथा समुह छनोटमा परेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा ७५ प्रतिशतमा धानको बीउ, ५० प्रतिशत आलु तथा शतप्रतिशत अदुवाको बीउमा अनुदान दिएर वितरण गरेको छ । 


प्रतिक्रिया