नागढुङ्गा–सिस्ने खोला सुरुङको ब्रेक थ्रु, सवारी सञ्चालन हुन एक वर्ष लाग्ने

वैशाख ३, २०८१ | काठमाडौं

निर्माण सुरु गरेको ५३ महिनापछि नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग निर्माणको काम पूरा भएको छ ।

बाँकी रहेको दुई मिटर सुरुङ खनिएसँगै सुरुङ मार्ग निर्माणको काम सकिएको हो । सुरुङ मार्ग छिचोलिएपनि सवारी साधन सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने आयोजनाको भनाई छ ।

सुरुङ मार्गको काम सुरु भएको ४२ महिनाभित्र काम सम्पन्न गर्ने भन्दै २०७६ सालमा सुरुङको शिलान्यास भएपनि कोरोना भाइरस संक्रमण र स्थानीयको अवरोधका कारण समयमा सम्पन्न हुन सकेको थिएन् ।

काठमाडौँको चन्द्रागिरी नगरपालिकाको बलम्बु देखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्गको लम्बाई दुई हजार ६ सय ६७ मिटर छ ।

सुरुङ मार्गको काम सकिएको अवसरमा एक कार्यक्रमको आयोजना गरियो । सो अवसरमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।   


प्रतिक्रिया