प्रधानमन्त्रीद्वारा नारायणी नदीमा बन्ने ‘सिग्नेचर पुल’को शिलान्यास

वैशाख ३१, २०८१ | नवलपरासी पूर्व

नारायणी नदीमा निर्माण हुने ‘सिग्नेचर पुल’को प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नु भएको छ । महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट र चितवनको नारायणगढको बिचमा रहेको नारायणी नदीमा ‘सिग्नेचर पुल’ बन्ने भएको हो । 

सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गर्नु भएको हो । सो पुलले बाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । 

त्यस्तै सहरका हिसाबले पुलले भरतपुर र गैंडाकोटलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल लगायत उपस्थित हुनुहुन्थ्यो । 

आगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ ।

सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ । पुल निर्माणका लागि कुल १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तुंदी कन्सट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ ।

नारायणगढ र गैंडाकोटको बीचमा रहेको नारायणी नदीमा यसअघि २०३८ सालमा बनेको पुलबाट हाल गाडी आउजाउ भइरहेको छ । अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो ।


प्रतिक्रिया