सिद्धबाबामा आइतबारदेखि विष्फोट गराएर सुरुङ खनिँदै

जेष्ठ १३, २०८१ | पाल्पा

पाल्पाको सिद्धबाबामा आइतबारदेखि विष्फोट गराएर सुरुङ खन्ने कामलाई तीब्रता दिइने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समिति र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिने भएको हो । 

जिल्ला सुरक्षा समितिको बैठकबाट जेठ ११ गते शुक्रबार प्रारम्भिक रुपमा पूर्वअभ्यास गर्ने र १३ गतेदेखि आवश्यकता अनुसार सवारी साधन रोकेर विष्फोटन गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । 

तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा १ हजार १ सय २६ मिटर सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकार दिनुभयो । 

विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवागमन रोकिनेछ । जेठ ११ गते शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको हो । 

आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । 

पाँँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुनमा ठेक्का सम्झौता भएर सुरुङ निर्माणको काम भइरहेको छ । 

राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना सुरु भएको हो ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौता अनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्ने आयोजनाका प्रमुख रामपुकार जयसवालले बताउनुभयो । 

निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाई भएको हो । मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको छ । 

उत्तर पोर्टलतर्फ ३७.४ मिटर सुरुङ खनेको जानकारी दिइएको छ । दक्षिण र उत्तरतर्फका दुबै पोर्टलका साथै निकासका लागि राखिएका तीन वटा बाइपास सुरुङहरुमा २३, १५, १५ मिटर मात्र खनिएको छ । 

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दूरीमा तीन वटा सहायक सुरुङमार्ग बनाइएको आयोजनाले जनाएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२ दशमलव ४७ प्रतिशत आर्थिक प्रगति भएको छ । 

जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायत प्रविधि मार्फत साढे २ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ । 

तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास लिइएको तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया