सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

जेष्ठ १५, २०८१ | काठमाडौं

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक आयव्ययको अनुमानित विवरण आज सार्वजनिक गर्दैछ । संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रत्येक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । 

निश्चित आयोजना तथा कार्यक्रमका लागि भन्दा पनि वितरणमुखी कार्यक्रम थपेर सरकारले चालू आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

चालू आर्थिक वर्ष सकिन अब डेढ महिना मात्र बाँकी रहँदा सरकारको पुँजीगत खर्च करीब साढे ४१ प्रतिशत मात्र छ । राजनीतिक तहबाट केही नयाँ कार्यक्रम प्रस्ताव आएपछि बजेटको आकार बढाउन लागिएको हो । 

सरकारले बजेटको आकार बढाउने तयारी गरिरहेका बेला पुँजीगत खर्चको अवस्था भने नाजुक छ । विगत एक दशकयता सरकारले विनियोजित बजेटको औसतमा ८० प्रतिशत मात्र खर्च गर्न सकेको छ । 

केही वर्षयता सरकारको पुँजीगत खर्च वार्षिक औसत १८ दशमलव २ प्रतिशत मात्र रहेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले देखाएको छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने बजेट मुलुकको आर्थिक शिथिलता सम्बोधन गर्ने किसिमको हुने सरकारी अधिकारीको दाबी छ । 

त्यस्तै, १६ औँ पञ्च वर्षीय योजनाले लिएका उत्पादन र रोजगारी वृद्धिको लक्ष्यमा बजेट केन्द्रित हुने बताइएको छ । सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षा मार्फत बजेट घटाउँदै आएको छ । 

पछिल्ला दुई वर्षमा सरकारले सवादेखि साढे २ खर्बले बजेटको आकार घटाएको छ । ठूलो आकारको बजेट ल्याउँदा आगामी वर्ष पनि सोही प्रवृत्ति दोहोरिने सम्भावना कायमै छ । 


प्रतिक्रिया