बजेट भाषण दिउँसो ३ बजेका लागि सर्‍यो

जेष्ठ १५, २०८१ | काठमाडौं

संघीय संसद भवनमा दिउँसो १ बजेका लागि तय गरिएको बजेट भाषण ३ बजेका लागि सारिएको छ ।

सरकारको अनुरोधमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा दुई घण्टापछिका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

संसदमा प्रस्तुत गर्न लागिएको बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको हो । मन्त्रिपरिषद्को बैठक दिउँसो १ बजे बसेर बजेट पारित गर्नेछ । 

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक आयव्ययको अनुमानित विवरण आज सार्वजनिक गर्दैछ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रत्येक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । 

निश्चित आयोजना तथा कार्यक्रमका लागि भन्दा पनि वितरणमुखी कार्यक्रम थपेर सरकारले चालू आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । 


प्रतिक्रिया