मुगुमा यार्चा सङ्कलकबाट ६९ लाख रुपैयाँ राजश्व सङ्कलन

जेष्ठ १९, २०८१ | मुगु

मुगुको कार्मारोङ गाउँपालिकामा यार्चा सङ्कलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व सङ्कलन भएको छ । सङ्कलकहरु जाने क्रम रहेकाले राजश्व जम्मा हुने क्रम निरन्तर छ ।

गत वर्ष यार्चा सङ्कलनबाट करिब ४६ लाख सङ्कलन भएकोमा र यो पटक ६९ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।

यार्चा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रतिव्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रति व्यक्ति २ हजारका दरले प्रवेश शूल्क उठाइएको मुगुम कार्मारोङ गाउँपालिकाका आन्तरिक लेखा परीक्षक महेशबहादुर मल्लले बताउनुभयो ।

यो पटक यार्चाबाट करिव ७० लाख राजश्व सङ्कलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । कोराना भाइरस संक्रमणका कारण ४ वर्षसम्म यार्चाबाट राजश्व उठ्न सकेको थिएन ।

गतवर्ष भने ४६ लाख रुपैयाँ राजश्व उठेको थियो । मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोला लगायत ७ वटा स्थानमा यार्चा टिप्ने गरिएको छ । 


प्रतिक्रिया