वाग्मती प्रदेशमा आर्थिक बेथिती बढ्ने जोखिम

असार ७, २०८१ | हेटौंडा

वाग्मती प्रदेशमा आर्थिक बेथिती बढ्ने देखिएको छ । बजेट पास गर्न सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपासँग असोजमै रकामान्तर गर्ने सहमति गरेसँगै प्रदेशमा आर्थिक बेथिती मौलाउने देखिएको हो ।

 सरकारले सदनमा पेश गरेको बजेट मन्त्रीमुखी भएको र आयव्ययको सन्तुलन नै नभएको पाइएपछि कांग्रेसले हिजो सदन अवरुद्ध गरेको थियो । जसको कारण सदनको वैठक स्थगित भएको थियो ।

सदन सञ्चालन गर्न हेटौंडा–२ स्थित मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निवासमा बसेको वैठकमा विपक्षीका योजनामा आवश्यक बजेट थप गर्ने, आयव्ययको सन्तुलन मिलाउने र सदनको अवरोध हटाउने विषयमा सहमति जुटेको थियो । सहमतिसँगै प्रदेशसभाको बैठक बसेको छ ।

स्रोतका अनुसार सत्तापक्षले असोज महिनाभित्रमै बजेट रकमान्तर गरी प्रतिपक्षीको बजेटमा समावेश भएका योजनामा थप रकम उपलब्ध गराउने सहमति भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले विकास बजेट थप गर्ने सरकारले प्रतिबद्धता जनाएको बताउनुभयो ।

एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रतिपक्षका माग सम्बोधन हुनेगरी सहमति भएको दावी गर्दै असार १२ गतेभित्रै बजेट पास हुने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । 


प्रतिक्रिया