पेट्रोलियम पदार्थको मूल्य घट्यो
श्रावण १७, २०८१ | काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य घटाएको जनाएको हो ।
इण्डियन आयल कर्पोरेसनबाट हिजो मूल्य घटेर आएपछि नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १ सय ५८ रुपैयाँ तोकिएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्य घटेसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल १६७ रुपैयाँ ५० पैसा तथा डिजेल÷मट्टितेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ तोकिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटर दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।