बुटवल-नारायणगढ सडकको काम रोकिएपछि आयोजना प्रमुखसँग स्पष्टीकरण सोधियो

श्रावण २१, २०८१ | नवलपरासी पूर्व

नवलपरासी पूर्व जिल्ला प्रशासन कार्यालयले बुटवल–नारायणगढ सडक आयोजनाका जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधेको छ । बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुई साता बितिसक्दा पनि निर्माण कम्पनीले काम सुरु नगरेपछि आयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख आशिष थापालाई गत शुक्रबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । 

राजमार्गमा काम नभएको देखिएपछि आयोजनाको पूर्वी खण्डको कार्यालयमा छ्डने जाँच गर्दा कर्मचारी समेत अनुपस्थित रहेकोले स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । ‘राजमार्गमा काम गरेको नदेखिएपछि यो सडक हेर्ने सरकारी कार्यालय बुटवल–नारायणगढ सडक निर्मँण आयोजनाको पूर्वी खण्डको कार्यालयमा छडके जाँच गर्न जाँदा कार्यालयमा कोही भेटिएनन्,’ उहाँले भन्नुभयो, ‘सबै काठमाडौं गएका रहेछन् ।’ 

पोखरेलले कार्यालय प्रमुख, इन्जिनियर लगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको बताउनुभयो । ‘सडक निर्माणको काम हेर्ने आयोजनाका प्रमुख सहित कर्मचारी कोही पनि नभएपछि ठेकेदारले किन काम गथ्र्यो र ? स्पष्टिकरण सोधेको छु’, पोखरेलले भन्नुभयो, ‘कार्यालयका प्रमख पनि छैनन अन्य इन्जिनियर पनि छैनन । कार्यलय नै रित्तो छ ।’ 

चिनियाँ ठेकेदारले निर्माणको जिम्मा लिएको बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गतको दाउन्नेदेखि गैंडाकोट क्षेत्रको सडक यही कार्यालयले हेर्न गर्छ । ‘यता राजमार्गमा कहीँकतै काम गरेको देखिँदैन । चाडाबाड सुरु हुन लाग्यो राजमार्गको यस्तो बिजोग छ’, प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘राजमार्गमा काम नगर्नुको कारण केहो भनेर स्पष्टिकरण सोधेको छु । राजमार्ग निमार्ण गर्न भत्काएको सडक निर्माण नगरेर अलपत्र छोड्दा राजमार्गको बिजोग छ ।’ 

राजमार्गमा जताततै ठूलाठूला खाल्डा परेका छन् । देवचुली, गैंडाकोट, मध्यबिन्दु नगरपालिकका र बिनयी त्रिवेणी गाउँपालिका भित्र पर्ने सडकको अवस्था निकै दयनीय रहेको उहाँको भनाई छ । दाउन्नेदेखि पूर्व चोरमारासम्मको क्षेत्रमा हिँड्नै नसकिने अबस्था छ ।

कुल ११३ किलोमिटर सडक बिस्तारको ठेक्का २०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौता अनुसार २०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । सो अवधिमा काम नसकिएपछि दोस्रो पटक गत साउन ८ सम्मका लागि म्याद थपिएको थियो । त्यस अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । 

सडक विस्तारको ठेक्का लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले वर्षाको कारण देखाउँदै काम रोकेको हो । ठेकेदारले वर्षाको कारण देखाउँदैै कात्तिक १५ पछि मात्र काम थाल्ने प्रस्ताव गरेको छ । जिल्ला प्रशासनले खाल्डाखुल्डी पुर्न, रोलर लगाएर सम्याउन र पहाडी क्षेत्र (दाउन्ने र थुम्सी) मा पर्खालको काम फटाफट गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया