आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

भाद्र ३१, २०८१ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ घटाएको हो । 

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सञ्चालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मूल्य घटेसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल १५६ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेलको भाउ प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ४८ रुपैयाँ तोकिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


प्रतिक्रिया